स्पेन बन्यो विश्वविजेता, आर्जेन्टिनालाई हराउँदै दोस्रो पटक उपाधि हासिल गर्न सफल

Published
पढ्ने समय: ४ मिनेट

सन् २०२६ को फिफा विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ।

नेपाली समयानुसार आइतवार मध्यरातपछि भएको खेलमा स्पेन र आर्जेन्टिनाबीच निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा १०६औँ मिनेटमा स्पेनका फेरान टोरेजले निको विलिअम्सको पासमा गोल गरेका थिए। त्यही गोल निर्णायक बन्यो।

यो स्पेनको दोस्रो विश्वकप उपाधि हो। यसअघि उसले सन् २०१० मा पनि विश्वकप जितेको थियो। आर्जेन्टिनाले सन् २०२२ मा जितेको थियो। फेरि अर्को उपाधि जित्ने उसको आकाङ्का पूरा हुन सकेन।

खेलमा सबैभन्दा धेरै गोल गर्दै फ्रान्सका किलिअन एम्बाप्पेले गोल्डन बूट पाएका छन्। उनले कुल १० गोल गरे। आर्जेन्टिनाका लिओनेल मेस्सीले ८ गोल गरेका थिए।

स्पेनका मिडफील्डर रोड्रीले खेलको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बलको उपाधि हात पारेका छन्। स्पेनका कप्तान रोड्रीलाई फिफा विश्वकप ट्रफी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हस्तान्तरण गरे।

यसअघि सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेर लिओनेल मेस्सीको टोली आर्जेन्टिना फाइनलमा पुगेको थियो। स्पेनले चाहिँ अर्को सेमिफाइनल खेलमा फ्रान्सलाई २-० ले हराएको थियो।

सेमिफाइनलमा हारेका फ्रान्स र इङ्ग्ल्यान्डबीच तेस्रो स्थानका निम्ति भएको खेलमा इङ्ग्ल्यान्डले ६-४ ले जितेको थियो।

आर्जेन्टिनाले यसअघि तीन पटक विश्वकप उपाधि जितिसकेको छ। उसले सन् १९७८, सन् १९८६ र सन् २०२२ मा उपाधि जितेको थियो।

सन् २०१०मा पहिलो पटक विश्वकप जितेको स्पेनका निम्ति चाहिँ यो दोस्रो उपाधि हो।

यसपालि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका हुन्।

यो सामग्रीमा हामीले यो प्रतियोगिताको समूह विभाजन, समयतालिका र खेल आयोजना भएका रङ्गशालासहितको विवरण उपलब्ध गराएका थियौँ। यहाँ खेलहरूको ताजा परिणाम र भिन्न समूहमा रहेका टोलीहरूले प्राप्त गरेको अङ्क तत्काल अद्यावधिक भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।