तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप क्रिकेट लीग २: ग्लोबल क्वालिफायरमा सिधै पुग्ने नेपालको बाटो झन् कठिन
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
गत बैशाखमा काठमाण्डूमा सम्पन्न आइसीसी विश्वकप लीग २ को दुई शृङ्खलामा ६ खेल जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली उत्साहित थियो। अहिले नेदरल्यान्ड्समा पुगेर टोलीको आत्मविश्वास फेरि डगमगाएको छ।
नेदरल्यान्ड्समा जारी आइसीसी विश्वकप लीग २ को सातौँ शृङ्खलामा नामिविया र नेदरल्यान्ड्ससँग लगातार २ खेलमा पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा सिधै प्रवेश गर्ने यात्रा कठिन बनेको हो।
सँग सँगै नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता समेत धरापमा परेको छ।
नेदरल्यान्ड्स भ्रमणलाई नेपालको एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम अवसरको रूपमा लिइएको थियो।
तर टोलीले दुई खेलबाट चार अङ्क गुमाइसकेको छ। नेपालको अङ्क तालिकामा जम्मा २४ अङ्क छ र टोली तालिकाको पाँचौँ स्थानमा छ। माथिल्लो स्थानमा रहेका टोलीहरूको स्थिति हेर्दा नेपालको माथि उक्लिने सम्भावना कम देखिएको हो।
शीर्ष चार टोलीले मात्र ग्लोबल क्वालिफायरमा सिधै प्रवेश पाउने छन्।
विश्वकप लीग २ मा नेपालले अब जम्मा ६ खेल मात्र खेल्न बाँकी छ।
ताजा अवस्था
आठ राष्ट्र सहभागी विश्वकप लीग २ मा सहभागी सबै टोलीले ३६ खेल खेल्ने प्रावधान छ। जसमा ३० खेल खेलेको नेपाल अहिले २४ अङ्कका साथ पाँचौँ स्थानमा छ।
३२ खेल खेलेको अमेरिका ४३ अङ्कको साथ पहिलो स्थानमा छ भने त्यति नै खेल खेलेको स्कटल्यान्ड ३८ अङ्कका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अङ्क जोडेको छ भने २८ खेलबाट ३१ अङ्क बटुलेको ओमान चौथो स्थानमा छ।
नेपालसँग समान २४ अङ्क लिएर क्यानडा छैटौँ र नामिविया सातौँ स्थानमा छन्। तर क्यानडाले नेपालले भन्दा २ खेल र क्यानडाले १ खेल कम खेलेका छन्। अन्तिम स्थानमा भने युएई रहेको छ। जसको १४ अङ्क मात्र छ।
यो समीकरण हेर्दा पहिलो र दोस्रो स्थानमा रहेको अमेरिका र स्कटल्यान्डलाई नेपालले बाँकी सबै खेल जिते पनि भेट्टाउन सक्ने छैन। दुवै टोली ग्लोबल छनोटमा पुगिसकेका छन्।
नेदरल्यान्ड्सलाई पनि भेट्न गाह्रो छ। अबको एक जितले टोलीलाई ग्लोबल छनोटमा पुर्याउन सक्छ।
नेपालले ओमानलाई उछिन्दै चौथो स्थानमा उक्लिन सक्छ। तर त्यसको लागि नेपालले बाँकी सबै खेल जित्ने र ओमानले सबै खेल हार्नुपर्ने हुन्छ, जुन वास्तविकतामा परिणत हुन जादु नै हुनुपर्छ।
बरु क्यानडा र नामिवियाले भने नेपाललाई उछिन्न सक्ने खतरा बढी देखिन्छ।
सुरुआतदेखि नै सङ्घर्ष
सन् २०२३-२७ को शृङ्खलामा नेपालले सुरुआतदेखि नै सङ्घर्ष गर्नु परेको थियो।
टोली अधिकांश समय सातौँ स्थानमा रहन पुगेको थियो र टोलीको प्रतिस्पर्धी टोली अन्तिम स्थानमा रहेको यूएई बनेको जस्तो देखिएको थियो।
नेपाली टोलीले विशेष गरी ब्याटिङमा यो सिजनभर निकै नै सङ्घर्ष गर्नु परेको देखियो।
अवे म्याच पनि नेपाललाई फाइदाकारी बन्न सकेन। जसमा घर बाहिर खेलेको १८ खेलमा १२ खेलमा पराजय भोग्नु परेको छ।
तर नेपालले सुधार गर्ने क्रममा गत वैशाख/जेठमा नेपालमा भएको दुई शृङ्खला (ओमान र यूएई) तथा (स्कटल्यान्ड र अमेरिका) मा महत्त्वपूर्ण बन्यो। त्यसमा खेलिएको ८ मध्ये ६ खेल जितेर नेपाल सातौँ बाट पाँचौँ स्थानमा उक्लिएको थियो।
र, शीर्ष ४ मा रहनका लागि नेदरल्यान्ड्सको भ्रमण नेपालको लागि अन्तिम मौका जस्तै बनेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले पनि नेपालको विश्वकप यात्राको लागि यो भ्रमण महत्त्वपूर्ण रहने जनाएको थियो।
नेपालले अब नेदरल्यान्ड्समा दुई खेल खेल्न बाँकी छ।
त्यसपछि नेपालले अन्तिम शृङ्खलाको रूपमा ओमान र क्यानडासँग खेल्ने तालिका छ।
अर्को मौका बाँकी छ
नेपाललाई अर्को मौका बाँकी नै छ। लीग २ मा शीर्ष ४ मा रहन असफल चार टोलीले क्वालिफायर प्ले अफ खेल्ने छन्।
प्ले अफमा च्यालेन्ज लीग खेलिरहेका ४ टोली र लीग २ बाट झरेका ४ गरी ८ टोलीबीच भिडन्त हुने छ। च्यालेन्ज लीगमा १२ टोलीबीच २ समूह बनाएर प्रतिस्पर्धा भइरहेको छ। त्यहाँबाट अहिलेसम्मको खेलको नतिजाको आधारमा जर्सी (उत्तर युरोपेली टापु राष्ट्र), कुवेत, युगान्डा र इटलीले राम्रो गरिरहेका छन्। हङकङ र पपुवा न्युगिनीले तिनीहरूलाई पछ्याइरहेका छन्।
समग्रमा नेपालले यदि शीर्ष ४ मा रहने सम्भावना जीवित राख्ने हो भने जारी शृङ्खलाको २ खेल जित्नु पर्ने छ भने त्यसपछि अन्तिम शृङ्खलाको लागि जुट्नु पर्ने छ।
त्यस निम्ति नेपाललाई इतिहासको साथ भने हुने छ। गत २०१९-२३ सिजनमा अविश्वसनीय रूपमा पछिल्लो ११ खेल जित्दै शीर्ष ३ को स्थान पाएको नेपालले बाँकी खेलमा त्यस्तै जादुमय प्रदर्शन गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।