फ्रान्स र स्पेनमा डढेलो नियन्त्रणका लागि सङ्घर्ष जारी, हजारौँ सुरक्षित स्थानमा सारिए

Published
पढ्ने समय: २ मिनेट

फ्रान्सको बोर्डो सहर नजिक फैलिएको भीषण डढेलोलाई नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू निरन्तर प्रयासरत छन्। डढेलोका कारण वरपरका क्षेत्रबाट दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्सका आन्तरिक मामिलामन्त्री लोराँ नुन्यजले उक्त क्षेत्रको अवस्था अझै पनि "अत्यन्त प्रतिकूल" रहेको र आगो "अनियमित रूपमा" बोर्डोतर्फ फैलिरहेको बताए। यद्यपि अधिकारीहरूले तत्काल बोर्डो सहर खाली गराउनुपर्ने स्थिति देखिहालेका भने छैनन्।

शनिवार रातिदेखि आइतवार बिहानसम्म बोर्डोको दक्षिणका गाउँहरूबाट करिब ५५ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उक्त क्षेत्र अङ्गुर खेतीका लागि प्रसिद्ध छ।

गएको एक सातादेखि युरोपका विभिन्न भागमा र त्यसमा पनि विशेषगरी फ्रान्स र स्पेनमा डढेलो फैलिएको छ। यी दुई देशमा मात्रै हालसम्म ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्स डढेलोबाट सबैभन्दा बढी आक्रान्त बनेको छ। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा ४२ हजार हेक्टर वन क्षेत्र नष्ट भएको छ र यसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो वनडढेलो मध्येको ठानिएको छ।

यो वर्षको सुरुदेखि हालसम्म देशभर ९८ हजार हेक्टरभन्दा बढी वन क्षेत्र आगोको चपेटामा परेको बताइएको छ।

दक्षिणपश्चिम फ्रान्सबाट मात्रै २ लाख २० हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ।

त्यस्तै स्पेनमा डढेलो अझै फैलिरहेको छ। मड्रिड र अभिला वरपरका क्षेत्रहरूबाट ९०,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

आगलागीबाट करिब ७७,००० हेक्टर क्षेत्र प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

मड्रिडमा रहेका पर्यटकहरूले विमानस्थल नजिकै आगो र धुवाँ देखिएको बताएका छन्। न्युजिल्यान्डबाट आएका एक जोडीले शहरस्थित आफ्नो होटलसम्मै पनि धुवाँको गन्ध महसुस गरेको बताए।

शनिवार एउटा सानो आगलागीमा भ्यालेन्सिआ क्षेत्रमा एक सर्वसाधारणको मृत्यु भयो। त्यस्तै साताको सुरुमा फ्रान्सको बोर्डो नजिकैको भीषण आगो निभाउने क्रममा दुई जना अग्निनियन्त्रकको ज्यान गएको थियो।

फ्रान्सको जिरोन्ड क्षेत्रमा २,५०० जना अग्निनियन्त्रकहरू खटिएका छन्, जसमा एउटा स्विस टोली पनि समावेश छ। साथै ठूलो सङ्ख्यामा खटिएका सेना तथा प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने, उद्धार कार्यमा सहयोग गर्ने र सुरक्षा व्यवस्था कायम राख्ने काम गरिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।