'सबैभन्दा पाका' व्यावसायिक फुटबल खेलाडीद्वारा ५९ वर्षको उमेरमा गोल

जापानी खेलाडी मिउरा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापानको राष्ट्रिय टोलीबाट सन् २००० सम्म खेलेका मिउराले ५५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन्
Published
पढ्ने समय: २ मिनेट

विश्वका सबैभन्दा पाका व्यावसायिक फुटबल खेलाडी काजुयोशी मिउराले ५९ वर्षको उमेरमा जापानको तेस्रो डिभिजनमा गोल गरेका छन्।

उनी जापानका भूतपूर्व राष्ट्रिय खेलाडी हुन्। 'फुकुशिमा यूनाइटेड'बाट खेल्दै आएका मिउराले चार वर्षपछि शनिवार फेरि गोल गरेका हुन्।

फुकुशिमा यूनाइटेडले 'एम्पेरर्स कप' अन्तर्गत भएको खेलमा 'इवाकी फुरुकावा'लाई ७-० को फराकिलो अन्तरले हरायो। त्यस क्रममा मिउराले ५२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ५-० को स्थितिमा पुर्‍याएका थिए।

नोभेम्बर २०२२ मा सुजुका पीजी (हाल एट्लेटिको सुजुका) बाट एफसी ओसाकाविरुद्ध गोल गरेयता प्रतिस्पर्धात्मक खेलमा उनको यो पहिलो गोल हो।

जापानमा 'किङ काजु' उपनामले चिनिने मिउरा देशका सर्वाधिक मन पराइएका खेलाडीहरूमध्ये एक हुन्। सन् १९९३ मा जे-लीग सुरु हुँदा उनी लीगका महत्त्वपूर्ण खेलाडी थिए।

उनले सन् १९८६ मा ब्रजिलको सान्तोस क्लबबाट आफ्नो खेल जीवन सुरु गरेका थिए।

त्यसपछि उनले इटली, क्रोएशिया र अस्ट्रेलियाका क्लबहरूबाट पनि व्यावसायिक फुटबल खेले।

'किङ काजु'को खेलजीवन

जापानी फुटबल खेलाडी काजुयोशी मिउरा  (दायाँ) १६ फेब्रुअरी २००० मा मकाऊमा भएको १२औँ एशियन कप २००० समूह १० को छनोट खेलमा ब्रुनईका खेलाडी मोहम्मद सैफुल रिजाल बिन अवाङसँग बलका लागि प्रतिस्पर्धा गर्दै। काजुयोशीले पहिलो हाफमा चौथो गोल गरेका थिए। जापान ९-० ले विजयी भएको थियो

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, मिउराले सन् २००० सम्म जापानका लागि अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए

उनी आफ्नो टोलीबाट अग्रपङ्क्तिबाट खेल्छन्।

जेटू लीगको योकोहामा एफसीबाट फुकुशिमासँगको सम्झौताको अवधि फेरि बढाएर जुन २०२७ सम्म पुगेपछि उनी आफ्नो खेलजीवनको ४२औँ सीजनमा खेल्ने छन्।

मिउरा सन् २००५ मा योकोहामामा अनुबन्धित भएका थिए। तर उनले सन् २०२० यता टोलीका लागि एक मिनेट पनि खेलेका छैनन्।

मिउराले जापानका लागि ८९ खेलमा ५५ गोल गरेका थिए।

उनले ६० वर्षको उमेरपछिसम्म पनि फुटबल खेलिरहने चाहना यसअघि नै व्यक्त गरिसकेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।